काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनामा कानुनी प्रक्रिया र प्रमाणको आधारबारे प्रश्न उठाएकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दर्शनाले कसुर देखिए पक्राउ गर्न सकिने भए पनि पक्राउ गर्दा कानुनी प्रक्रिया र प्रमाणको आधार पालना गर्नुपर्ने बताएकी हुन् ।
‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ । तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ,’ उनले लेखेकी छन्, ‘कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ । आरोप मात्र पर्याप्त हुँदैन; कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ ।’
उनले कानुनको शासनको मूल मर्म अधिकार प्रयोग गर्दा विधि, प्रक्रिया र प्रमाणको पालना गर्नु रहेको उल्लेख गरेकी छन् ।
‘कानुनको शासन भनेकै यही हो । अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन,’ दर्शनाले भनेकी छन् ।
दर्शनाले जबरालाई ‘सुरक्षित स्थानमा केही समयको स्थानान्तरण गर्न गरिएको पक्राउ’ भन्दै उनको सुरक्षामा सतर्कता बढाउन पनि आग्रह गरेकी छन् । कुनै पनि ‘जेनेरेशन’ले उनलाई धम्की दिन नसक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ ।
पूर्वप्रधानन्यायाधीश जबरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । त्यसपछि उनलाई टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको थियो ।
प्रहरीले जबरालाई ‘सुरक्षा थ्रेट’ देखिएपछि सुरक्षित स्थानमा राखिएको जनाएको थियो । उनलाई भेट्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न नदिएको बताइएको छ ।
आइतबार दिनभरजसो प्रहरी कार्यालयमा राखिएका जबरालाई अपराह्नतिर आफन्तको जिम्मा लगाइएको थियो । घटनापछि प्रहरीको कारबाही र जबरालाई नियन्त्रणमा लिने प्रक्रियाबारे कानुन व्यवसायी तथा विभिन्न राजनीतिक दलका नेताहरूले प्रश्न उठाउँदै आएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले समेत विज्ञप्ति जारी गर्दै घटनाबारे चासो व्यक्त गरेको थियो