जाजरकोटमा कुटपिटबाट घाइते युवकको मृत्यु, पाँच जना पक्राउ

17 August, 2026 56 Views
जाजरकोटमा कुटपिटबाट घाइते युवकको मृत्यु, पाँच जना पक्राउ
56

काठमाडौं ।  युवाहरूको समूहको कुटपिटबाट घाइते भएका जाजरकोटमा औषधी पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ।

दैलेखको नारायण नगरपालिका–२ घर भएका थापालाई साउन २५ गते भेरी नगरपालिका–१० नुवागाउँमा विवादपछि युवाहरूको समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ। सुरुमा चौरजहारीस्थित मिसन अस्पतालमा उपचार गराएका थापालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो। उनको साउन २८ गते बिहान केयर सिटी हस्पिटलमा मृत्यु भएको हो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले भेरी नगरपालिका–८ र ९ का वीरेन्द्र खत्री, निरज रोकाया, शिशिर योगी गोसाइ, लक्ष्मण रोकाया र बिनोद गोसाइलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार मोबाइल हराएको विषयमा विवाद हुँदा कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ। पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ।

Related Post