काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–२ फारुल्लामा शनिबार गएको पहिरोमा परी बेपत्ता भएका आमा–छोरा आइतबार बिहान मृत फेला परेका छन्। पहिरोमा पुरिएको अवस्थामा सुरक्षाकर्मीको टोलीले उनीहरूको शव फेला पारेको हो।
पहिरोमा परी ५४ वर्षीया रती खत्री र उनका छोरा ओमसिंह खत्री बेपत्ता भएका थिए। उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले आइतबार बिहान पहिरोमा पुरिएको अवस्थामा उनीहरूको शव फेला पारेको जाजरकोट प्रहरीले जनाएको छ।
यसैगरी, शनिबार बेलुकी भेरी नगरपालिका–२ कै चिसापानीमा पनि पहिरो गएको थियो। उक्त पहिरोमा परी ७० वर्षीय भीमबहादुर कार्की अझै बेपत्ता छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
चिसापानीकै पहिरोबाट ५२ वर्षीया केदार कार्कीलाई उद्धार गरिएको थियो। उद्धारपछि उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोका विभिन्न घटनामा परी ६ जना घाइते भएका छन्। घाइतेहरूको सुर्खेत र जाजरकोटका अस्पतालमा उपचार भइरहेको छ।
जाजरकोटका डीएसपी बुद्धीसागर पुरीका अनुसार घटनास्थलमा सुरक्षाकर्मीको टोली पुगेर खोजी तथा उद्धार कार्य गरिरहेको छ। तर घटनास्थलसम्म पुग्ने सडकका विभिन्न ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएकाले उद्धार तथा खोजी कार्यमा समस्या भइरहेको छ।
प्रहरीका अनुसार पहिरो प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी बेपत्ता व्यक्तिको खोजी, घाइतेको उद्धार तथा प्रभावित परिवारको अवस्थाबारे आवश्यक काम भइरहेको छ।