काठमाडौँ । भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजना प्रभावित हुँदा आयोजना स्थल तथा सुरुङमा रहेका ८९८ जना सम्पर्कविहीन रहेको अवस्थामा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्मीले खोज तथा उद्धार जारी राखेका छन्। सेनाका अनुसार सरकारले खोजी रोक्ने निर्णय नगरेसम्म सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म सबै आयोजनामा निरन्तर खोजी गरिनेछ। सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले यस्तो जानकारी दिएका हुन्।
भोटेकोशी बाढीबाट रसुवाका रसुवागढी, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे र मेलुङ खोला तथा नुवाकोटका त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का अनुसार ती आयोजना स्थल र विद्युत् सुरुङमा रहेका ८९८ जना सम्पर्कविहीन छन्।
संयुक्त उद्धार टोलीले माथिल्लो त्रिशूली–१ को सुरुङभित्र ११५ मिटर भित्रबाट एक जना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेको सेनाले जनाएको छ। २१६ मेगावाट क्षमताको उक्त आयोजनाको सुरुङभित्र पुग्दा उद्धारकर्मीलाई समेत अक्सिजन लिनुपर्ने अवस्था रहेको सहायक रथी थापाले बताए।
यस्तै, नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको पावर हाउसबाट दुई जनाको जीवित उद्धार र एक जनाको शव निकालिएको सेनाले जनाएको छ। उद्धारका लागि चारवटा स्काभेटर र तीनवटा वाटर पम्प प्रयोग गरिएको थियो। पावर हाउसको ढोकाभित्र ठूलो मात्रामा लेदो पसेका कारण उद्धारमा कठिनाइ भइरहेको सेनाको भनाइ छ।
सेनाका अनुसार सुरुङको करिब १७५ मिटरभित्र रहेको पावर हाउसमा १० दिनपछि मात्र उद्धार टोली प्रवेश गर्न सफल भएको थियो।
यता, त्रिशूली–३ बी आयोजनामा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ। आयोजनास्थलमा नेपाली सेनाका ९० जना सुरक्षाकर्मीले खोजी तथा उद्धार जारी राखेका छन्। मिनी स्काभेटरसहितका उपकरण प्रयोग गरी त्रिशूली–३ ए हुँदै त्रिशूली–३ बीको सुरुङसम्म पुग्ने प्रयास भइरहेको सहायक रथी थापाले जानकारी दिए।