काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्रसारण अधिकार नेटटीभीले पाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा सोमबार भएको बोलपत्र खोल्ने प्रक्रियामा सबैभन्दा बढी रकम प्रस्ताव गरेपछि नेटटीभीले ओटीटी अधिकार सुरक्षित गरेको हो।
नेटटीभीले करबाहेक १८ करोड ४ लाख रुपैयाँको प्रस्ताव गरेको थियो। प्रतिस्पर्धामा रहेको डीगो स्ट्रिमले भने करबाहेक १७ करोड रुपैयाँको प्रस्ताव गरेको थियो।
एनपीएलको ओटीटी अधिकारका लागि नेटटीभी र डीगो स्ट्रिम गरी दुई कम्पनीले मात्रै बोलपत्र पेश गरेका थिए। नेटटीभीमा वर्ल्डलिंकको लगानी छ भने डीगो स्ट्रिममा डीएस होमको लगानी रहेको छ।
नेटटीभीका प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारीले आफ्नो कम्पनीले सबैभन्दा बढी रकम प्रस्ताव गरेको पुष्टि गरे। उनका अनुसार क्यानले अब आवश्यक प्रक्रिया पूरा गरेपछि अधिकारबारे औपचारिक जानकारी इमेलमार्फत दिनेछ।
क्यानले ओटीटी प्लेटफर्मलाई नेपालबाट करसहित अधिकतम ४ सय रुपैयाँ, खाडी मुलुकबाट ६ सय रुपैयाँ तथा अन्य देशबाट १० अमेरिकी डलरसम्म शुल्क लिएर एनपीएल हेर्ने ग्राहक बनाउन सक्ने व्यवस्था गरेको छ।