गुल्मी । जलवायु परिवर्तनका चुनौती सामना गर्न स्थानीय तहको भूमिका, हरित जलवायु कोष (GCF) तथा यसको स्वतन्त्र गुनासो सुनुवाइ संयन्त्र (IRM) सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गुल्मीको रेसुङ्गा नगरपालिकामा सम्पन्न भएको छ।
२०८३ मंसिर २ गते बुधबार YASEN Nepal को आयोजना तथा हरित जलवायु कोष (GCF) को IRM र रेसुङ्गा नगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता रेसुङ्गा नगरपालिका वडा नं. १ का अध्यक्ष रामप्रसाद पन्थीले गरेका थिए।
कार्यक्रममा जलवायु अभियन्ता विष्णु पाण्डेयले जलवायु परिवर्तनका प्रभाव, स्थानीय तहको जिम्मेवारी, जलवायु वित्त, हरित जलवायु कोष र यसको स्वतन्त्र गुनासो सुनुवाइ संयन्त्रबारे विशेष प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, पत्रकार, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका कर्मचारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, समुदायको जलवायु अधिकार, जलवायु वित्तमा पहुँच तथा गुनासो सुनुवाइको प्रक्रियाबारे छलफल गरेका थिए।
जलवायु परिवर्तनका कारण स्थानीय समुदायले भोगिरहेका समस्या समाधान गर्न सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो। साथै, जलवायुसम्बन्धी योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउन पारदर्शिता, जवाफदेहिता र नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको विषय उठाइएको थियो।
कार्यक्रमले स्थानीय तहमा जलवायु परिवर्तनसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै जलवायु वित्तमा समुदायको पहुँच र अधिकारबारे जानकारी विस्तार गर्ने अपेक्षा गरिएको छ।