काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको नेतृत्वदेखि तल्लो तहका कार्यकर्तासम्मको कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
बिहीबार काठमाडौंमा जारी एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै भण्डारीले पार्टीका कमिटीहरू पद र प्रतिष्ठा बढाउने माध्यम नभई जिम्मेवारी पूरा गर्ने संरचना बन्नुपर्ने बताएकी हुन्।
उनले पार्टीभित्र आलोचना र आत्मालोचनाको संस्कार विकास गर्नुपर्ने, नेता–कार्यकर्ताबीचको सम्बन्ध सुधार्नुपर्ने तथा संगठनलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएकी छन्।
भण्डारीले आवश्यकताभन्दा पनि नेताहरूको माग र स्वार्थका आधारमा कमिटीहरू ठूलो बनाउने प्रवृत्ति बढेको भन्दै त्यसप्रति असन्तुष्टि जनाएकी छन्। पार्टीका विभिन्न तहका कमिटीहरू मानार्थ नभई कार्यार्थ हुनुपर्ने उनको भनाइ छ।
उनका अनुसार पार्टीका बैठक बस्ने, निर्णय गर्ने र प्रतिवेदन तयार पार्ने औपचारिकतामा मात्रै संगठन सीमित हुनुहुँदैन। केन्द्रीय कमिटीदेखि वडा र टोल तहसम्मका संरचनाले निर्णय कार्यान्वयन, संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्ध मजबुत बनाउन सक्रिय भूमिका खेल्नुपर्छ।
भण्डारीले एमालेले पछिल्लो निर्वाचनमा व्यहोरेको पराजयलाई गम्भीर धक्काका रूपमा लिँदै त्यसको कारण खोजेर कमजोरी सुधार्नुपर्ने बताएकी छन्। निर्वाचनमा हार्दैमा राजनीतिक आन्दोलनको भविष्य समाप्त नहुने उल्लेख गर्दै उनले पराजयबाट पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राखेकी छन्।
उनले पार्टीको कमजोरीलाई चुनावी हारमा मात्र सीमित नगरी संगठन सञ्चालनको पद्धति, नेतृत्वको कार्यशैली र नेता–कार्यकर्ताको व्यवहारसँग जोडेर समीक्षा गर्नुपर्ने बताएकी छन्।
प्रतिवेदनमा उनले मदन भण्डारी र जीवराज आश्रितको जीवनबाट सादगी, निष्ठा, अनुशासन, सहिष्णुता र जनतासँगको आत्मीय सम्बन्धको प्रेरणा लिनुपर्ने उल्लेख गरेकी छन्। राजनीतिक दलले जनताको अधिकार, सुशासन र जवाफदेहिताको कुरा गर्ने मात्र नभई व्यवहारमै त्यसलाई लागू गर्नुपर्ने उनको भनाइ छ।
यसैगरी, भण्डारीले वर्तमान सरकारका कतिपय गतिविधिमाथि प्रश्न उठाउँदै संविधान, लोकतान्त्रिक मूल्य र संसदीय प्रणालीको अभ्यास कमजोर पार्ने काम भइरहेको आरोप लगाएकी छन्।
राजनीतिक असहमतिका आधारमा व्यक्ति तथा सञ्चारमाध्यमलाई निशाना बनाउने, कानुनी प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण व्यवहार गर्ने र सञ्चारमाध्यमको स्वतन्त्रता संकुचित गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कारविपरीत हुने उनले बताएकी छन्।
कानुन उल्लंघन भएको अवस्थामा निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट दोष निरूपण हुनुपर्ने भन्दै कानुनलाई राजनीतिक प्रतिशोधको औजार बनाउन नहुने उनको धारणा छ।
संविधान संशोधनका विषयमा उनले राष्ट्रिय सहमति आवश्यक रहेको बताएकी छन्। संविधान समय र आवश्यकताअनुसार संशोधन गर्न सकिने भए पनि यसको लोकतान्त्रिक चरित्र र आधारभूत मान्यतामा प्रतिकूल असर पार्न नहुने उनको भनाइ छ।
पार्टी राजनीतिमा आफ्नो पुनरागमनबारे स्पष्ट पार्दै भण्डारीले कुनै पद, सुविधा वा व्यक्तिगत अवसरका लागि सक्रिय राजनीतिमा नफर्किएको बताएकी छन्। राष्ट्रपति जस्तो सर्वोच्च पदको जिम्मेवारी पूरा गरिसकेकाले आफू पदप्रति निष्पृह रहेको उनको भनाइ छ।
उनले एमालेको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले पार्टीमा सक्रिय भएको उल्लेख गरेकी छन्।
युवा पुस्तामा बढ्दो निराशा, बेरोजगारी र विदेश पलायन रोक्न जनसंगठनहरूलाई अनुसन्धान, उद्यमशीलता, बहस तथा रचनात्मक अभियानमा सक्रिय बनाउनुपर्ने प्रस्ताव पनि भण्डारीले गरेकी छन्। साथै, जनताको बहुदलीय जनवादलाई वर्तमान चुनौतीको समाधान र भविष्य निर्माण गर्ने जीवन्त मार्गदर्शक सिद्धान्तका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन्।