जेन्जी आन्दोलनमा चोरी भएको १८ किलो सुनको हिसाब माग्दै राष्ट्रिय वाणिज्य बैंकमा प्रदर्शन

22 June, 2026 13 Views
जेन्जी आन्दोलनमा चोरी भएको १८ किलो सुनको हिसाब माग्दै राष्ट्रिय वाणिज्य बैंकमा प्रदर्शन
13

काठमाडौं । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा धितो राखिएको सुन चोरी भएको घटनापछि पीडित धितोकर्ताहरूले सोमबार बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन्।

जेन(जी) आन्दोलनका क्रममा उक्त शाखाबाट करिब १८ किलो सुन र सवा ५ करोड रुपैयाँ नगद लुटिएको घटनाको लामो समय बितिसक्दा पनि बैंकले कुनै राहत वा क्षतिपूर्ति उपलब्ध नगराएको भन्दै उनीहरूले सिंहदरबार प्लाजास्थित बैंकको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा धितोकर्ताहरूले आफूहरूले ऋणका लागि धितो राखेको सुन बैंकको जिम्मेवारीमा रहेको भन्दै हराएको सुनको कुल तौल बराबरको सुन फिर्ता गर्नुपर्ने माग गरेका छन्।

पीडितमध्येकी सरस्वती बस्नेतले बैंक व्यवस्थापनले क्षतिपूर्ति वा राहत उपलब्ध गराउने विषयमा स्पष्ट प्रतिबद्धता नजनाएको र जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाइन्। उनका अनुसार धितो राखिएको सुन हराउँदा सेवाग्राहीहरू आर्थिक तथा मानसिक रूपमा ठूलो समस्यामा परेका छन्।

प्रदर्शनकारीहरूले सरकारी स्वामित्वको बैंकमाथि विश्वास गरेर सुन धितो राखेको भए पनि घटनापछि आफूहरू अन्यायमा परेको गुनासो गरेका छन्। “सरकारी बैंकलाई विश्वास गर्नु हाम्रो अपराध हो कि के हो ?” भन्दै उनीहरूले सरकार र बैंक व्यवस्थापनसँग जवाफ मागेका छन्।

प्रदर्शनका क्रममा केही धितोकर्ताहरू बैंकभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो। पीडितहरूले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

उक्त घटनामा हराएको सुन र नगदको विषयमा पीडितहरूले यथाशीघ्र न्याय, क्षतिपूर्ति तथा सुन फिर्ताको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Related Post