५–१ को शानदार जितसँगै स्वीफ्ट टेक्नोलोजी बन्यो सिनर्जी कपको पहिलो च्याम्पियन

06 October, 2026 58 Views
५–१ को शानदार जितसँगै स्वीफ्ट टेक्नोलोजी बन्यो सिनर्जी कपको पहिलो च्याम्पियन
58

काठमाडौँ । स्वीफ्ट टेक्नोलोजीले पहिलो संस्करणको आइएमई ग्रुप सिनर्जी कप २०८३ को उपाधि जितेको छ। धन्वन्तरी फुटसल मैदानमा भएको फाइनलमा स्वीफ्ट टेक्नोलोजीले आइएमई वारियर्सलाई ५–१ गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो।

आइएमई ग्रुपको आयोजनामा भएको प्रतियोगितामा समूहअन्तर्गतका १८ कम्पनीले सहभागिता जनाएका थिए।

उपाधिसँगै स्वीफ्ट टेक्नोलोजीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। दोस्रो भएको आइएमई वारियर्सले ५० हजार रुपैयाँ तथा तेस्रो हुने समूहले ३५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन्।

प्रतियोगिताको पहिलो खेल आइएमई ग्रुप म्यानेजमेन्ट समूह र ग्रुपअन्तर्गतका कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीच भएको थियो। उक्त खेलमा आइएमई ग्रुप म्यानेजमेन्ट समूह २–० ले विजयी भएको थियो।

प्रतियोगिता उद्घाटन गर्दै आइएमई ग्रुपका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले सिनर्जी कपले समूहमा आबद्ध कर्मचारीबीच आपसी सौहार्दता र सहकार्य बढाउन सहयोग पुग्ने बताए।

ट्रफी हस्तान्तरण गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले प्रतियोगितामा सहभागी सबै समूहले उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले आगामी संस्करणमा अझ उत्साहका साथ सहभागी हुन सबै समूहलाई शुभकामना दिए।

आइएमई ग्रुपले पहिलोपटक आयोजना गरेको सिनर्जी कप २०८३ को डिसहोमअन्तर्गत एक्सन स्पोर्ट्स एचडी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

Related Post