काभ्रेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते

17 August, 2026 76 Views
काभ्रेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन गम्भीर घाइते
76

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। सोमबार पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको जिप सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको पहिचान खुल्न सकेको छैन। जिपमा सवार ताराबहादुर माझी भने दुर्घटनाका क्रममा हाम फालेर ज्यान बचाउन सफल भएका छन्। उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले उद्धार तथा घटनाको प्रारम्भिक अनुसन्धानका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार घटनाको थप विवरण संकलन भइरहेको छ।

प्रारम्भिक जानकारीअनुसार जिपको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि दुर्घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घाइते तीन जनाको अवस्था गम्भीर रहेकाले उनीहरूको उद्धार तथा उपचारका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

Related Post