काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार महाधिवेशनमा कुल ७ हजार ११४ जना मतदाता रहेका छन्।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन समितिले मतदाताको नामावली प्रकाशन गरेको हो।
समितिका अनुसार प्राविधिक वा प्रक्रियागत कारणले नाम छुटेको भए त्यसलाई अन्तिम मतदाता नामावली प्रकाशनका क्रममा समावेश गरिनेछ।
प्रकाशित नामावलीमा कुनै दाबी, विरोध वा संशोधन गर्नुपर्ने भए समितिले निर्धारण गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय निर्वाचन समितिको कार्यालयमा निवेदन दिन सकिनेछ।
त्यस्तै, दाबी–विरोध तथा उम्मेदवारी मनोनयन पत्र दर्तासम्बन्धी कार्यक्रमहरू संशोधित समयतालिकाअनुसार सञ्चालन हुने समितिले जनाएको छ। निर्वाचनका बाँकी कार्यक्रम भने यसअघि तय गरिएको कार्यतालिकाअनुसार नै सञ्चालन हुने जनाइएको छ।