काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण नतिजा आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुकीसम्म सबै पदको मतपरिणाम सार्वजनिक भइसक्ने जानकारी कांग्रेस मिडिया सेन्टरलाई दिएका हुन्।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ। सहमहामन्त्री र केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना भने केहीमा सम्पन्न भइसकेको छ भने अन्य समूहमा जारी छ।
निर्वाचन समितिले मतगणनालाई तीव्रता दिँदै बाँकी नतिजासमेत आजै सार्वजनिक गर्ने तयारी गरेको हो।
सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। कुल खसेको ७ हजार १३ मतमध्ये ५४ मत बदर भएका थिए। थापाले ९४.६ प्रतिशत अर्थात् ६ हजार ५८४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ५.४ प्रतिशत अर्थात् ३७५ मत पाए।
त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी ५३.१ प्रतिशत र इन्जिनियर मधु आचार्य ३३ प्रतिशत मतसहित निर्वाचित भएका छन्। समावेशी उपसभापतिमा विनोदकुमार चौधरी २४.८ प्रतिशत मतसहित निर्वाचित भएका छन्।
खुला महामन्त्रीमा प्रदीप पौडेल ५९.६ प्रतिशत र उदयशमशेर राणा ३२.८ प्रतिशत मतसहित निर्वाचित भएका छन्। महिला महामन्त्रीमा डिला संग्रौला ४४.३ प्रतिशत मतसहित विजयी भएकी छन्।
सहमहामन्त्रीका विभिन्न समूहमा खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। महिला सहमहामन्त्रीमा प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुर सिंह लामा र पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही निर्वाचित भएका छन्।
विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम पनि सार्वजनिक भइसकेको छ। केही क्लस्टरका सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना गरिरहेको छ। बाँकी समूहको गणना सम्पन्न गरी आज बेलुकीसम्म सम्पूर्ण नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
गत असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनमा असोज २३ गते मतदान भएको थियो। सभापतिको मतपरिणाम असोज २४ गते बिहानै सार्वजनिक भए पनि अन्य पदको मतगणना अपेक्षाकृत ढिलो हुँदा सम्पूर्ण नतिजा सार्वजनिक हुन समय लागेको हो।