काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्। ओलीको स्थानमा एमाले महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन्।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार पोखरेलले महाधिवेशन उद्घाटन समारोहमा पार्टीका तर्फबाट शुभकामना दिनेछन्। कांग्रेसको १५औँ महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा उद्घाटन हुँदैछ।
यसैबीच, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। प्रचण्डको सचिवालयका अनुसार कुनै आकस्मिक परिस्थिति उत्पन्न नभए उनी कार्यक्रममा सहभागी हुनेछन्।
कांग्रेसले महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको जनाएको छ। उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
कांग्रेस महाधिवेशनमा ओली नजाने, एमालेबाट पोखरेल सहभागी हुने
238