काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हाल्ने भएको छ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे हुने समारोहमा सभापतिबाहेक अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। सभापति गगन थापाले यसअघि नै शपथ लिइसकेका छन्।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरी पदबहालीसमेत गराइनेछ।
महाधिवेशनबाट थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका थिए। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य, पुष्पा भुसाल र विनोद चौधरी चयन भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्।
शपथ ग्रहणपछि आजै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ। बैठकमा जिल्ला तथा प्रदेश अधिवेशनलगायतका विषयमा छलफल हुने बताइएको छ।