काठमाडौं । बाढीपहिरोबाट क्षति व्यहोरेका बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहका लागि सङ्घीय सरकारले पहिलो चरणमा २ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । गत असोज ११ गतेको बाढीपहिरोबाट प्रभावित पश्चिम बागलुङका छ स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपछि उक्त रकम उपलब्ध गराइएको हो ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार प्राप्त रकम सम्बन्धित पालिकाको खातामा पठाइनेछ । उक्त रकम अवरुद्ध सडक सञ्चालन, खानेपानीका पाइप मर्मत, विद्युत् सेवा पुनः सञ्चालन तथा विद्यालयमा पठनपाठनको वातावरण तयार गर्नेलगायत तत्काल गर्नुपर्ने काममा खर्च गरिनेछ ।
सङ्कटग्रस्त क्षेत्र घोषणा भएका पालिकालाई ४० लाख रुपैयाँका दरले अनुदान दिइएको छ । आंशिक रूपमा प्रभावित क्षेत्र घोषणा गरिएका निसीखोला र तमानखोलाका सम्बन्धित वडाले भने २० लाख रुपैयाँका दरले बजेट पाएका छन् ।
ताराखोला, बडिगाड, गलकोट र ढोरपाटनका सबै वडा तथा निसीखोला गाउँपालिकाका वडा नम्बर ४ र ६ एवं तमानखोला गाउँपालिकाका वडा नम्बर २ र ४ लाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार तत्कालीन राहत तथा मर्मतसम्भारका लागि उपलब्ध गराइएको यो बजेटपछि निजी आवास, विद्यालय भवन र सडक पुनर्निर्माणका लागि थप बजेट आउने अपेक्षा गरिएको छ । पालिकाहरूलाई क्षतिग्रस्त संरचना मर्मत गरी प्रभावित नागरिकलाई तत्काल राहत पुग्ने काममा रकम परिचालन गर्न भनिएको छ ।
गत असोज ११ गतेको बाढीपहिरोमा परी बागलुङमा १३ जनाको मृत्यु भएको थियो । निसीखोला र तमानखोलामा पाँच–पाँच जना तथा ताराखोलामा तीन जनाले ज्यान गुमाएका थिए । बडिगाडमा हावाहुरीका कारण सयौँ घरका छाना उडेका थिए भने गलकोट र ढोरपाटनमा सडक, विद्यालय तथा निजी आवासमा क्षति पुगेको थियो ।
विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै प्रभावित बस्तीमा राहत, पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।