काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलन सुरु हुने जनाएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णयअनुसार टोल शुल्क लागू गर्न लागिएको हो।
आयोजनाले सार्वजनिक गरेको शुल्क विवरणअनुसार काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले ६५ रुपैयाँ तिर्नुपर्नेछ। काठमाडौं प्रवेश नगरी सुरुङमार्गबाट बाहिरिने यस्ता सवारीसाधनका लागि ६० रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २५० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ।
मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ।
नयाँ व्यवस्थासँगै कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार सडक उपभोग दस्तुर बुझाउनुपर्नेछ।