काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।
यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिएको भए पनि भारी वर्षा र केही प्राविधिक कारणले मतदानको समय तीन घण्टा पछि सारिएको हो।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदानका लागि प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभागृहमा मतदान गर्नेछन्। कोशी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ।
त्यस्तै गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि प्रज्ञा भवन, कमलादीमा मतदानको व्यवस्था गरिएको छ। कर्णाली, सुदूरपश्चिम, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ एवं शुभेच्छुक संस्थातर्फका प्रतिनिधिका लागि पनि तोकिएका छुट्टाछुट्टै केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।
मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश वा समूहको मतदान केन्द्रमा गई मतदान गर्नुपर्नेछ। मतदानअघि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन आचारसंहिताले निषेध गरेका मोबाइल फोनलगायतका सामग्री मतदानस्थलमा लैजान पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले निर्धारण गरेको प्रक्रिया पूरा गरेपछि मात्र मतदान गर्न पाउनेछन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया यसअघि नै पूरा भइसकेको छ। त्यसपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो।
आज हुने मतदानबाट कांग्रेसको नयाँ सभापतिसहित उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य चयन हुनेछन्। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।