काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट समावेशीसहित ८० वटा क्लस्टरबाट नयाँ केन्द्रीय कार्यसमिति चयन हुने भएको छ। सोमबारको बन्दसत्रले पारित गरेको संशोधित विधानअनुसार सभापति, पदाधिकारी र केन्द्रीय सदस्य गरी विभिन्न ८० श्रेणीबाट प्रतिनिधित्व सुनिश्चित गरिएको हो। खुला, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, खसआर्य, थारू, प्रदेश, प्रवास र युवा लगायतका समूहबाट केन्द्रीय सदस्य चयन हुनेछन्।
नयाँ कार्यसमिति चयनका लागि मंगलबार मनोनयन दर्ताको कार्यक्रम छ। मनोनयनसहितका प्रक्रिया पूरा भएपछि २२ असोज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका छ।
संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन्। चार उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ। तीन महामन्त्रीमध्ये दुई जना खुला र एक जना महिला कोटाबाट निर्वाचित हुनेछन्।
१५ सहमहामन्त्रीमध्ये दुई जना खुला तथा आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक/अपांगता कोटाबाट एक–एक जना निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन्। प्रवक्ता र सहप्रवक्ता एक–एक जना रहनेछन्।
केन्द्रीय सदस्यतर्फ खुलाबाट ४५ र महिला खुलाबाट १५ जना निर्वाचित हुनेछन्। त्यसबाहेक आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक तथा अपांगता लगायतका विभिन्न समावेशी समूहका लागि छुट्टाछुट्टै कोटा निर्धारण गरिएको छ।
प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारबाट पनि एक–एक जना केन्द्रीय सदस्य चयन हुनेछन्। सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा महिला र खुला समूहबाट समेत केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
त्यस्तै, काठमाडौं उपत्यका तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका विभिन्न क्षेत्रका लागि पनि केन्द्रीय सदस्यको कोटा छुट्याइएको छ। पेशागत तथा श्रमिक क्षेत्रलाई समेत केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने व्यवस्था विधानमा गरिएको छ।
विधानअनुसार केन्द्रीय कार्यसमितिले थप ६६ जना सदस्य मनोनीत गर्न सक्ने व्यवस्था छ।