कांग्रेसमा सहमहामन्त्रीका लागि तीन महिला नेतृको उम्मेदवारी

04 October, 2026 175 Views
कांग्रेसमा सहमहामन्त्रीका लागि तीन महिला नेतृको उम्मेदवारी
175

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि तीन महिला नेतृले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, ईश्वरी न्यौपाने र सीता गुरुङले सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।

प्रतिमा गौतम २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्। उनी नेपाल विद्यार्थी संघकी पूर्वमहामन्त्रीसमेत हुन्।

त्यस्तै, ईश्वरी न्यौपाने कांग्रेसकी पूर्वसचेतक तथा राज्य व्यवस्था तथा सुशासन समितिकी पूर्वसभापति हुन्। उनी यसअघि पटक–पटक पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहिसकेकी छन्।

उम्मेदवारी घोषणा गर्दै न्यौपानेले कांग्रेसलाई थप लोकप्रिय र संगठनात्मक रूपमा बलियो पार्टी बनाउने आफ्नो लक्ष्य रहेको बताएकी छन्। उनले पार्टीलाई देशकै अग्रणी शक्तिका रूपमा स्थापित गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेकी छन्।

यसैगरी कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सीता गुरुङले पनि सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। गुरुङ यसअघि प्रतिनिधिसभामा समानुपातिक तथा प्रत्यक्ष दुवै प्रणालीबाट सांसद बनेकी थिइन्।

२०७९ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गुरुङले सहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।

नेपाली कांग्रेसको विधानअनुसार पार्टीमा ८ जना सहमहामन्त्री रहने व्यवस्था छ। तीमध्ये एक पद महिलाका लागि आरक्षित गरिएको छ। महाधिवेशनमा उक्त पदका लागि तीन महिला नेतृबीच प्रतिस्पर्धा हुने देखिएको छ।

Related Post