कुलमान घिसिङको दह्रो दाबी– ‘बागमती जितेर संघीय सरकारको नेतृत्व गर्छौँ’

06 October, 2026 115 Views
कुलमान घिसिङको दह्रो दाबी– ‘बागमती जितेर संघीय सरकारको नेतृत्व गर्छौँ’
115

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्।

हेटौँडामा मंगलबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै घिसिङले बागमतीमा सरकार गठन गर्ने आधार तयार भइसकेको दाबी गरे। उनले बागमतीबाट सुरु गर्दै उज्यालो नेपाल प्रदेशमा मात्र सीमित नरहने र आगामी दिनमा संघीय सरकारको नेतृत्व गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए।

घिसिङका अनुसार पार्टीको मुख्य उद्देश्य सत्ता प्राप्ति मात्र नभई आर्थिक रूपान्तरण, सुशासन र विभेदको अन्त्य गर्नु हो। उनले उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषमा आधारित पार्टी नभएको स्पष्ट पार्दै देशको समग्र विकासलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाइरहेको बताए।

देशको आर्थिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’लाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै घिसिङले आफूहरू मध्यमार्गी राजनीतिक धारबाट अघि बढ्ने बताए। बागमतीबाट सुरु गरेर देशभर सुशासन, विकास र समृद्धिको एजेन्डा स्थापित गर्ने पार्टीको लक्ष्य रहेको उनको भनाइ छ।

घिसिङले वर्तमान सरकारले गठन भएको करिब ६ महिनामा जनताको अपेक्षाअनुसारको परिणाम दिन नसकेको टिप्पणी गरे। सरकारले केही क्षेत्रमा काम गर्न खोजे पनि विकास निर्माण र सुशासनका क्षेत्रमा अपेक्षित गति र स्पष्टता देखाउन नसकेको उनको दाबी छ।

यद्यपि उनले वर्तमान सरकारलाई पूर्ण रूपमा असफल भने भन्न नमिल्ने बताए। सरकारमा सहभागी युवामा काम गर्ने उत्साह भए पनि अनुभव, विज्ञता र आवश्यक क्षमताको कमी देखिएको उनको भनाइ थियो।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको एकीकरण प्रयास १२ दिनमै टुट्नुमा रास्वपा नेतृत्व जिम्मेवार रहेको घिसिङले आरोप लगाए। एकीकरणको निर्णय नै उज्यालो नेपालका लागि गलत भएको निष्कर्षमा पुगेको बताउँदै उनले सहमति गरेर एकतर्फी रूपमा त्यसबाट पछि हट्नु राजनीतिक इमानदारीविपरीत भएको टिप्पणी गरे।

घिसिङले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले देशभर संगठन विस्तार र राजनीतिक गतिविधिलाई तीव्र बनाइरहेको जानकारी दिए। स्थानीय तहदेखि प्रदेश र संघसम्म पार्टीको उपस्थिति बलियो बनाउँदै देशको नेतृत्व गर्ने लक्ष्यका साथ अघि बढिरहेको उनले बताए।

Related Post