24
कपिलवस्तुको तौलिहवा–बहादुरगञ्ज सडकखण्ड अन्तर्गत महाराजगञ्ज नगरपालिका–२, गैडहवा चोक नजिक ट्रकले किच्दा एक बालकसहित तीन जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार बहादुरगञ्जबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको मदिरा लोड गरिएको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार बिहान भएको यो दुर्घटनापछि स्थानीयवासी स्तब्ध बनेका छन्। दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक अनुमान गरिएको छ भने प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।