३३ करोडको मुद्दामा सफाइ पाएपछि नेपाल टेलिकमकी एमडी संगीता पहाडी पुनः काममा फर्किइन्

13 July, 2026 83 Views
३३ करोडको मुद्दामा सफाइ पाएपछि नेपाल टेलिकमकी एमडी संगीता पहाडी पुनः काममा फर्किइन्
83

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल विशेष अदालतबाट सफाइ पाएपछि पुनः नियमित जिम्मेवारीमा फर्किएकी छिन्। बिलिङ प्रणाली खरिदसम्बन्धी ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनको निलम्बन फुकुवा गर्दै पुनर्बहाली गरेको हो।

पदबहालीपछि कर्मचारीहरूलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितलाई केन्द्रमा राखेर निष्ठापूर्वक काम गर्न कर्मचारीहरूलाई आग्रह गरिन्। उनले प्रक्रियागत सुधारलाई प्राथमिकतामा राख्दै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य अपेक्षालाई समेत ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

अर्यालले नेपाल सरकारको नीति, भावना र मार्गनिर्देशनअनुसार सत्यनिष्ठ र पारदर्शी ढंगले काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास र बजारको साख अझ सुदृढ बनाउने तथा सेवालाई थप गुणस्तरीय र ग्राहकमैत्री बनाउने बताइन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिलिङ प्रणाली खरिदसम्बन्धी अनियमितताको आरोप लगाउँदै २०८२ जेठ २५ गते अर्यालसहित अन्यविरुद्ध ३३ करोड ४८ लाख १७ हजार रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर विशेष अदालतले २०८२ असार २५ गते अर्याललाई उक्त मुद्दामा सफाइ दिएको थियो। त्यसपछि उनी पुनः नेपाल टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारीमा फर्किएकी हुन्।

Related Post