२ असोज, सुर्खेत । जेन-जी आन्दोलनका क्रममा कर्णाली प्रदेशका ५५ वटा निजी तथा सरकारी भवनमा क्षति पुगेको छ । २३ र २४ भदौमा भएको आन्दोलनमा अराजक समूहले तोडफोड र आगजनी गर्दा कर्णाली प्रदेशका तीन जिल्लाका सरकारी तथा निजी भवनहरूमा क्षति पुगेको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयले तयार पारेको विवरणअनुसार सुर्खेतमा ४७, जुम्लामा ६ र मुगुमा २ वटा सरकारी तथा निजी भौतिक संरचना क्षति भएको छ ।
प्रदेश प्रहरीको रिपोर्टअनुसार संघीय सरकारी कार्यालय ६, प्रादेशिक कार्यालय ७, जिल्ला तथा स्थानीय तहका कार्यालय १८, व्यक्तिगत तथा निजी ९, पार्टी कार्यालय १२ वटा र अन्य ३ वटा संघ संस्था पूर्ण, आंशिक र सामान्य क्षति भएको उल्लेख गरिएको छ ।
त्यस्तै संघीय १, प्रादेशिक ४, जिल्ला तथा स्थानीय ७, व्यक्तिगत ४, अन्य संघसंस्था १ र पार्टी कार्यालय ७ वटा पूर्ण रूपमा जलेर नष्ट भएको कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले जानकारी दिए । ‘कर्णालीका तीन जिल्लामा क्षति पुगेको छ । सबैभन्दा बढी सुर्खेतमा क्षति छ,’ उनले भने ।