अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सरकारको निर्णय

अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क पढाउने सरकारको निर्णय
76

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको भीषण बाढीबाट विस्थापित नागरिकको व्यवस्थापनका लागि बागमती प्रदेश सरकारले बजेट तथा आवश्यक सामग्री उपलब्ध गराउने भएको छ।

सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री किरण थापा मगरले प्रादेशिक विपद् व्यवस्थापन कोषमार्फत प्रभावित नागरिकका लागि सेल्टर, खाद्यान्न तथा बसोवासको व्यवस्था गर्न आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिए।

बाढीपछि जारी खोज तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच जिम्मेवारी बाँडफाँडसहित समन्वय गरेर काम भइरहेको मुख्यमन्त्री थापाले बताए। प्रभावित क्षेत्रमा सम्भावित महामारी रोकथामका लागि समेत प्रदेश सरकारले आवश्यक पहल गरिरहेको उनको भनाइ छ।

बाढीबाट घरबारविहीन भएका नागरिकलाई अस्थायी सेल्टरमा राखेर खाना तथा आवश्यक सामग्री उपलब्ध गराउने काम भइरहेको छ। स्थानीय तहले सञ्चालन गर्ने राहत तथा व्यवस्थापनका काममा आवश्यक स्रोत प्रदेश सरकारले उपलब्ध गराउने गरी निर्देशन दिइएको उनले बताए।

यस्तै, बाढी तथा पहिरोका कारण काठमाडौं उपत्यकामा ग्यास र दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएपछि वैकल्पिक सडक सञ्चालनको तयारी भइरहेको छ। कुलेखानी–भीमफेदी सडकलाई मंगलबारदेखि वैकल्पिक मार्गका रूपमा सञ्चालन गर्ने तयारी गरिएको मुख्यमन्त्री थापाले जानकारी दिए। कान्ति लोकपथमा गएको पहिरो हटाउने काम पनि जारी रहेको उनले बताए।

चितवनमा ठूलो संख्यामा शव फेला परेपछि व्यवस्थापनमा चुनौती देखिएको भन्दै स्थानीय तहबाट जमिन उपलब्ध गराई डीएनए परीक्षण तथा शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको उनले बताए।

बाढीमा अभिभावक गुमाएका बालबालिकाका लागि पनि प्रदेश सरकारले महत्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री थापाका अनुसार त्यस्ता बालबालिकालाई प्रदेश सरकारद्वारा सञ्चालित आवासीय विद्यालयमा कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिनेछ। त्यसको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने उनले जानकारी दिए।

Related Post