काठमाडौं । विनाशकारी बाढीले घरबार र दैनिक जीवन प्रभावित बनाएका धादिङको गल्छी गाउँपालिका–६, बैरेनीका स्थानीयको पीडामा नेपालस्थित इजरायली दूतावासले साथ दिएको छ। बाढीबाट प्रभावित समुदायलाई दूतावासले आपत्कालीन मानवीय सहायता उपलब्ध गराउँदै संकटको समयमा नेपाली नागरिकसँग ऐक्यबद्धता जनाएको हो।
अचानक आएको बाढीका कारण प्रभावित क्षेत्रमा जनजीवन अस्तव्यस्त बनेपछि इजरायली दूतावासकी मिसन उप–प्रमुख जनन बेबारले बैरेनी पुगेर बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो। उहाँले प्रभावित समुदायको अवस्था, उनीहरूले भोगिरहेका कठिनाइ तथा तत्काल आवश्यक पर्ने सहयोगबारे जानकारी लिनुभएको दूतावासले जनाएको छ।
स्थलगत अवलोकनका क्रममा बाढीका कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई आपत्कालीन झोला र अत्यावश्यक सामग्री हस्तान्तरण गरिएको थियो। विपद्को तत्कालीन अवस्थामा आधारभूत आवश्यकता पूरा गर्न कठिनाइ भोगिरहेका परिवारलाई प्रारम्भिक राहत उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको हो।
बाढीले निम्त्याएको संकट र त्यसबाट प्रभावित नेपाली नागरिकप्रति सहानुभूति व्यक्त गर्दै नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बासले इजरायल नेपाली जनताको साथमा रहेको बताउनुभएको छ।
राजदूत बासले प्रारम्भिक मानवीय सहयोगले प्रभावित समुदायलाई कठिन परिस्थितिमा केही राहत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। प्राकृतिक विपद्को संकट सामना गरिरहेको नेपाललाई आवश्यक सहयोग गर्न इजरायल प्रतिबद्ध रहेको उहाँको भनाइ छ।
बाढीपछि राहत, उद्धार र पुनःस्थापनाको आवश्यकता बढिरहेका बेला इजरायली दूतावासको यो सहयोगले प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन सहयोग पुगेको छ। विपद्को घडीमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले प्रभावित नागरिकको पीडा कम गर्न तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।