68
दैलेखको साङ्गेताडास्थित कर्णाली राजमार्गमा असार १८ गते दुर्घटना भई नदीमा बेपत्ता भएको फोर्स गाडी र यात्रुहरूको खोजीका लागि अत्याधुनिक प्रविधिसहितको संयुक्त गोताखोर टोली परिचालन गरिएको छ।
नदीको तीव्र बहाव र धमिलो पानीका कारण खोजी कठिन भएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट विशेषज्ञ टोलीसहित कुल १० जना गोताखोरहरूले संयुक्त रूपमा नदीको गहिराइमा खोजी अभियान सुरु गरेका हुन्।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी नदीमा खसेको थियो, जसमध्ये एक पुरुषको शव फेला परे पनि गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात छ।
खोजी कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायले पानीमुनि काम गर्ने अत्याधुनिक सोनार क्यामरा, बोरोस्कोप क्यामरा र ८ सय किलोग्रामसम्मको धातु तान्न सक्ने विशेष म्याग्नेट (चुम्बक) प्रयोगमा ल्याएको छ।
सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ्गको कमाण्डमा खटिएको यो प्राविधिक टोलीले नदीको गहिराइमा अनुसन्धान केन्द्रित गरेको छ। बेपत्ता चालक र यात्रुहरूको खोजीका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई निगरानी र तटीय क्षेत्रसम्म सुरक्षाकर्मीहरूको टोली परिचालन गरिएको छ।