82
डोटीको बडीकेदार गाउँपालिका–२ खरहरमा शनिबार साँझ करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०–५१ वर्षीय हर्कबहादुर पल्ली मगरको करेन्ट लागेर मृत्यु भएको हो।
शनिबार साँझ करिब ४:४५ बजे काठको काम गरिरहेका बेला उनलाई अचानक करेन्ट लागेको र त्यसबाट गम्भीर घाइते भई उनको तत्कालै घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले पुष्टि गरेको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार, घटनाबारे स्थानीय वडा सदस्य तारा रामजालीले राती करिब ८:३० बजे मात्रै प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बीपीनगरबाट प्रहरी निरीक्षक वीरबहादुर बोहराको कमान्डमा ७ सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी घटनाको थप अनुसन्धान गरिरहेको छ।