कीर्तिपुर मैदानमा फ्लडलाइट र स्कोरबोर्ड जडान गर्ने काम मेरो नेतृत्वमा अघि बढेको हो : प्रचण्ड

17 November, 2025 271 Views
कीर्तिपुर मैदानमा फ्लडलाइट र स्कोरबोर्ड जडान गर्ने काम मेरो नेतृत्वमा अघि बढेको हो : प्रचण्ड
271

मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर क्रिकेट मैदानमा अहिले देखिएको आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडानको आधार आफूले नै बनाइदिएको दाबी गरेका छन्। नेपाल प्रिमियर लिग  (एनपिएल)  को दोस्रो संस्करण सुरु हुने अवसरमा जारी गरेका शुभकामना सन्देशमार्फत उनले यो परियोजना आफ्नो निर्देशनबाट अघि बढेको स्मरण गरे।

उनका अनुसार २०७९ चैत २ गते कीर्तिपुरमै युएईविरुद्ध नेपालले ऐतिहासिक जित हासिल गरेको दिन स्टेडियमको कमजोर अवस्थाले आफूलाई निकै पीडा दिएको थियो। भोलिपल्टै बालुवाटारमा खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार वितरण गर्दै उनले राष्ट्रिय खेलकुद परिषद् (एनपिएल) लाई तत्काल आधुनिक फ्लडलाइट र डिजिटल स्कोरबोर्ड जडान गर्न निर्देशन दिएको बताए। वार्षिक बजेटमा विनियोजन भए पनि कानुनी, प्राविधिक र प्रशासनिक अड्चनले काम समयमा पूरा हुन नसकेको उनको दाबी छ।

प्रचण्डका शब्दमा, “सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षी दलको नेताको रूपमा पनि मैले संसदमा निरन्तर रूपमा कीर्तिपुर मैदानको विषय उठाइरहेँ।” अघिल्लो सरकारले पनि सो परियोजनालाई निरन्तरता दिएको उनले उल्लेख गरे। परिणामस्वरूप आज एनपीएल दोस्रो संस्करणको खेल फ्लडलाइटसहितको मैदानमा हेर्न पाउनु सबै नेपालीका लागि गर्वको विषय भएको प्रचण्डको मूल्यांकन छ।

क्रिकेटले नेपालको अन्तर्राष्ट्रिय पहिचान उचो बनाइरहेको भन्दै उनले नेपाल सरकार, राखेप, क्यान, खेलाडी र दर्शक सबैको सकारात्मक भूमिकाको प्रशंसा गरे। साथै राष्ट्रिय गौरवका रूपमा घोषणा गरिएका अन्य रंगशालाहरूलाई पनि सरकारले छिट्टै अघि बढाउन आह्वान गरे। उनका अनुसार “नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटलाई विकास, विस्तार र पेशागत उचाइमा नयाँ ऊर्जा दिने” अपेक्षा गरिएको छ।

Related Post