असार ९ — कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा आइतबार भएको भीषण विष्फोटमा नेपाली नागरिकहरू पनि घाइते भएका छन्। घटनामा १२ भारतीय र एक पाकिस्तानी गरी १३ जनाको मृत्यु भएको छ भने ६६ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।
घाइते हुनेहरूमा नेपाल, कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया तथा नाइजेरियाका नागरिकहरू रहेका छन्। यद्यपि कतारी अधिकारीहरूले हालसम्म घाइतेहरूको नामावली सार्वजनिक गरेका छैनन्। सबै घाइतेहरूको उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।
कतारका ऊर्जा मन्त्री साद अल–काबीले सोमबार पत्रकार सम्मेलनमार्फत घटनाको जानकारी दिँदै यो कुनै आक्रमण नभई दुर्घटना भएको स्पष्ट पारे। "यो दुर्घटना हो, तोडफोड वा कुनै शत्रुतापूर्ण गतिविधि होइन," उनले भने।
दोहास्थित भारतीय दूतावासले पनि सामाजिक सञ्जाल ‘एक्स’मार्फत १२ भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै घाइतेहरूले आवश्यक उपचार पाइरहेको जनाएको छ।
विष्फोटको आवाज राजधानी दोहासम्म महसुस भएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार घटनापछि आकाशतर्फ ठूलो आगोको ज्वाला र बाक्लो धुवाँ देखिएको थियो। यद्यपि आइतबार रातिनै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको कतारी अधिकारीहरूले बताएका छन्।
पश्चिम एसियामा विगतमा देखिएको तनावका कारण प्रारम्भिक रूपमा आक्रमणको आशंका गरिए पनि कतार सरकारले त्यसलाई अस्वीकार गर्दै दुर्घटनाकै कारण विष्फोट भएको जनाएको छ।
ऊर्जा मन्त्री अल–काबीका अनुसार घटनाले कतारको ग्यास निर्यात वा स्थानीय आपूर्तिमा कुनै असर पार्ने छैन। साथै वातावरणीय प्रभावसमेत नपरेको उनको दाबी छ।