काठमाडौँका तीन सञ्चारगृहको गेटमा बेवारिसे कार,प्रहरीद्वारा अनुसन्धान सुरु

13 July, 2026 85 Views
काठमाडौँका तीन सञ्चारगृहको गेटमा बेवारिसे कार,प्रहरीद्वारा अनुसन्धान सुरु
85
काठमाडौँका तीनवटा ठुला सञ्चारगृह (मिडिया हाउस) को मुख्य प्रवेशद्वार नै थुनिएर ठप्प हुने गरी अज्ञात व्यक्तिहरूले बेवारिसे अवस्थामा निजी कारहरू तेर्स्याएपछि प्रहरीले गम्भीरताका साथ अनुसन्धान थालेको छ। 
सोमबार बिहान करिब ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको मूल गेटमै चाबीसमेत नराखी निजी नम्बर प्लेटका गाडीहरू बेवारिसे रूपमा छाडिएका थिए । 
गाडीहरू यसरी तेर्स्याइएका कारण सञ्चारकर्मी तथा कर्मचारीहरू कार्यालयभित्र आवतजावत गर्न र अन्य सवारीसाधन भित्र–बाहिर गराउन पूर्ण रूपमा अवरोध सिर्जना भएको थियो । घटनाबारे जानकारी पाएलगत्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली क्रेनसहित स्थलगत रूपमा परिचालन भई ती शंकास्पद गाडीहरूलाई तानेर सिंहदरबार बग्गीखाना पुर्‍याएको छ र सीसीटीभी (CCTV) फुटेजका आधारमा चालक तथा सवारीधनीको खोजी तीव्र पारेको छ ।
प्रेस स्वतन्त्रता र सञ्चारगृहको सुरक्षामाथि नै गम्भीर चुनौती थप्ने गरी योजनाबद्ध रूपमा गरिएको यो अवरोधलाई नेपाल पत्रकार महासंघले 'निन्दनीय र रहस्यमय' भन्दै कडा आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र पत्रकारलाई त्रसित बनाउने उद्देश्यले गरिएको यो कार्यको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। 
काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक एसपी पवनकुमार भट्टराई र ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा केही सवारीधनीहरूले आफूहरू काठमाडौँ बाहिर नगरकोट लगायतका क्षेत्रमा रहेको र सवारीसाधन चालकले लिएर गएको दाबी गरेका छन्। पछिल्लो समय काठमाडौँ महानगरको पार्किङ विवाद र मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणमा मिडियाले सरकार र महानगरको आलोचना गर्दै निरन्तर समाचार सम्प्रेषण गरिरहेका बेला नियोजित रूपमा भय सिर्जना गर्न यो हर्कत गरिएको हुनसक्ने आशंका गरियको छ।

Related Post