काठमाडौंमा रातभर सार्वजनिक यातायात चलाउने तयारी, २८ बस र ६ रुट प्रस्ताव

काठमाडौंमा रातभर सार्वजनिक यातायात चलाउने तयारी, २८ बस र ६ रुट प्रस्ताव
54

काठमाडौँ । काठमाडौंमा सञ्चालन भइरहेको रात्रिकालीन सार्वजनिक यातायातलाई विस्तार गरी हालका ७ बसलाई २८ पुर्‍याउने र उपत्यकाका ८ नगरपालिकालाई जोड्ने गरी ६ वटा नयाँ रुट थप्ने प्रस्ताव गरिएको छ। काठमाडौं महानगरपालिकाले साझा यातायातसँग सहकार्यमा सञ्चालन गरेको तीनमहिने परीक्षणमा ६६ हजार ९५२ यात्रुले सेवा लिएको र प्रतिबस दैनिक औसत १ हजार ६९० रुपैयाँ घाटा भएको अध्ययन प्रतिवेदनले देखाएको छ। सेवा विस्तारसँगै आर्थिक दिगोपनाका लागि रात्रिकालीन भाडामा १२ रुपैयाँ थप्ने वा स्थानीय तहबीच लागत साझेदारी गर्ने विकल्पसमेत प्रस्ताव गरिएको छ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार उपत्यकाका स्थानीय तहको सहभागितामा अन्तरनगर रात्रिकालीन यातायात सञ्जाल विकास गर्ने तयारी भइरहेको छ। रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तारबारे अध्ययन गर्न गठित कार्यदलले महानगरलाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनअनुसार परीक्षणका क्रममा एउटा बसले दैनिक औसत १४२ जना यात्रु बोकेको थियो। यसबाट प्रतिदिन करिब ३ हजार १३४ रुपैयाँ आम्दानी हुँदा बस सञ्चालनमा दैनिक ४ हजार ८१४ रुपैयाँ खर्च भएको थियो। यस आधारमा प्रतिबस दैनिक १ हजार ६९० रुपैयाँ घाटा भएको हो।

रात्रिकालीन सेवामा राति ८ देखि ९ बजेसम्म सबैभन्दा बढी यात्रुको चाप देखिएको छ। यो समयमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक तथा दैनिक ज्यालादारी गर्ने यात्रुको संख्या बढी रहेको अध्ययनले देखाएको छ।

हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ गरी दुई रुटमा ७ वटा विद्युतीय बस सञ्चालनमा छन्। प्रस्तावित नयाँ रुटमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथमा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल वायुसेवा निगम लगायतका रुट छन्। यी रुटले उपत्यकाका प्रमुख अस्पताल, व्यापारिक केन्द्र तथा प्रवेश नाकालाई जोड्ने प्रस्ताव गरिएको छ।

सेवालाई आर्थिक रूपमा दिगो बनाउन कार्यदलले हालको भाडामा १२ रुपैयाँ थपेर रात्रिकालीन प्रिमियम भाडा कायम गर्ने, घाटाको ५० प्रतिशत स्थानीय तहले व्यहोर्ने तथा बाँकी रकम जनघनत्व, नगरपालिकाको आकार र सञ्चालन दूरीका आधारमा बाँडफाँड गर्ने विकल्प अघि सारेको छ।

यस्तै, रात्रिकालीन सेवामा महिला, ज्येष्ठ नागरिक र पर्यटकको सुरक्षालाई प्राथमिकता दिँदै बसमा सीसीटीभी, जीपीएस ट्रयाकिङ र छुट्टै बस स्टपको व्यवस्था गर्न सुझाव दिइएको छ। काठमाडौं, ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सहभागितामा सेवा विस्तार गर्न सिफारिस गरिएको छ।

Related Post