काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो नाम जोडेर सार्वजनिक गरिएको विवादित अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर बनाइएको दाबी गरेका छन्। उनले आफूमाथि लगाइएका आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमा भिडियो र क्याप्सन सार्वजनिक गर्दै सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएदेखि आफू निरन्तर प्रहारको निशानामा परेको बताएका छन्। उनले सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गर्दै ती आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन्।
सुनारले आफूलाई विभिन्न आरोपमा मुछ्ने प्रयास भइरहेको उल्लेख गर्दै सार्वजनिक अडिओमा सुनिएको पात्र आफू नभएको जिकिर गरेका छन्। उनले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिन र अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्। साथै, सार्वजनिक भएका सामग्रीका आधारमा भ्रममा नपर्न उनले आम नागरिकलाई आग्रह गरेका छन्।
यसअघि सुनारले एक महिलालाई फोनमार्फत अपशब्द प्रयोग गर्दै धम्की दिएको भनिएको अडिओ सार्वजनिक भएको थियो। उक्त घटनासँगै उनीमाथि अनुचित दबाब, ब्ल्याकमेलिङ तथा शंकास्पद आर्थिक कारोबारसम्बन्धी आरोपसमेत सार्वजनिक भएका छन्। यद्यपि, यी आरोपको सत्यतथ्य पुष्टि हुन बाँकी छ।
घटनालाई गम्भीर रूपमा लिँदै रास्वपाले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको विज्ञप्तिमा छानबिनको निष्कर्ष नआएसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको उल्लेख छ।
रास्वपाले महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारेको छ। पार्टीले राज्यका सम्बन्धित निकायबाट हुने स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
पार्टीको आन्तरिक छानबिन र राज्यका निकायबाट हुने अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चालिने रास्वपाले जनाएको छ। कानुन उल्लङ्घन गर्ने वा सार्वजनिक पदको आचरणविपरीत काम गर्ने कसैलाई पनि राजनीतिक संरक्षण नदिने पार्टीको भनाइ छ।
सुनारमाथि लागेका आरोप र उनले अडिओबारे गरेको दाबीको अन्तिम सत्यतथ्य भने सम्बन्धित अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ।