ललितपुरको इमाडोलमा युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत भट्ट पक्राउ

06 July, 2026 67 Views
ललितपुरको इमाडोलमा युवतीलाई गोप्य अङ्ग देखाउने शिक्षा अधिकृत भट्ट पक्राउ
67
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४, इमाडोलस्थित एक एकान्त गल्लीमा हिँडिरहेकी युवतीलाई लक्षित गरी सार्वजनिक स्थलमै कपडा खोलेर गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत सुरेन्द्र भट्ट सोमबार पक्राउ परेका छन् । बाजुरा स्थायी घर भएका भट्ट शिक्षा विकास तथा समन्वय इकाईमा अधिकृत स्तरका सरकारी कर्मचारी हुन्।
 आइतबार साँझ करिब साढे ६ बजे भएको यस घटनामा पीडित युवतीले डर मान्नुको साटो अद्भुत साहस देखाउँदै आफ्नो मोबाइल फोनबाट आरोपी भट्टको अश्लील हर्कतको भिडिओ खिचेर उनलाई लखेटेकी थिइन् । भिडिओमा एक स्थानीय नागरिकको सहयोगमा आरोपीलाई नियन्त्रणमा लिइएको र आरोपीले हात जोडेर माफी मागिरहेको दृश्य देखिन्छ।
उक्त भिडिओ सामाजिक सञ्जाल टिकटकमा भाइरल भएपछि युवतीको साहसको चौतर्फी प्रशंसा भइरहेको छ भने सरकारी ओहोदामा रहेका व्यक्तिको यस्तो हर्कतप्रति नागरिकले आक्रोश पोखेका छन् ।
टिकटकमा भिडिओ सार्वजनिक भए लगत्तै जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको टोली सक्रिय भई आरोपी भट्टलाई इमाडोल क्षेत्रबाटै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनाको थप पुष्टि र प्रमाणका लागि उक्त गल्ली वरपर जडान गरिएका सिसिटिभी (CCTV) फुटेजहरू समेत सङ्कलन गरिसकेको छ।
 पीडित युवती सोमबार नै औपचारिक जाहेरीका लागि प्रहरी कार्यालय पुगेकी छन्। प्रहरीका अनुसार पक्राउ परेका शिक्षा अधिकृत भट्टमाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार, अश्लील व्यवहार प्रदर्शन र चरित्र हत्या सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

Related Post