ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

26 June, 2026 12 Views
ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास
12

 असार १२ – युवालाई सीप विकास, रोजगारी तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले ललितपुर महानगरपालिकाले शुक्रबार सीप तथा रोजगार मेला आयोजना गरेको छ।
रोजगार सेवा केन्द्र, ललितपुर महानगरपालिकाको आयोजना तथा जीविको इजिसिएटिभ्सको प्राविधिक सहकार्यमा आयोजित मेला ललितपुर समृद्धि र सुशासनको आधार, सम्पदा–संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित सञ्चालन गरिएको हो।

मेलामा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, तालिम प्रदायक संस्था, रोजगारदाता कम्पनी तथा उद्यमशीलता प्रवर्द्धन गर्ने संघ–संस्थाहरूको सहभागिता रहेको छ। सहभागीहरूले रोजगारीका अवसर, सीपमूलक तालिम तथा उद्यम सञ्चालनसम्बन्धी जानकारी प्रदान गरेका छन्।

रोजगार सेवा केन्द्रकी रोजगार संयोजक लक्ष्मी कार्कीका अनुसार मेलाको मुख्य उद्देश्य युवालाई नेपालभित्र उपलब्ध रोजगारीका अवसर, आवश्यक सीप तथा रोजगार आवेदन प्रक्रियाबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनु हो।

उनले रोजगार सेवा केन्द्रले आन्तरिक तथा वैदेशिक रोजगार दुवै क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै नेपालमै रहेका युवालाई रोजगारदाता संस्था तथा कम्पनीसँग जोड्ने, विभिन्न क्षेत्रमा खुलिरहेका रोजगारीबारे जानकारी दिने तथा आवश्यक सीप हासिल गर्ने अवसरबारे सचेत गराउने लक्ष्यका साथ मेला आयोजना गरिएको बताइन्।

उनका अनुसार मेलामार्फत युवाले विभिन्न सीपमूलक तालिम, रोजगारका अवसर तथा आवेदन प्रक्रियाबारे एकै स्थानबाट जानकारी लिन सक्नेछन्।

यसैबीच, सहारा फाउण्डेसनकी अध्यक्ष दिलमाया तामाङ रानाले आत्मनिर्भरता नै संस्थाको मूल उद्देश्य रहेको बताइन्। उनले दातामुखी सोचभन्दा सीप, उत्पादन र उद्यममार्फत आर्थिक रूपमा सक्षम बन्नुपर्नेमा जोड दिइन्।

"हामी कुनै संघ–संस्था वा सरकारको भरमा होइन, आफैं आत्मनिर्भर बन्नुपर्छ भन्ने उद्देश्यका साथ काम गरिरहेका छौं। खोक्रा भाषणभन्दा व्यवहारिक सीप आवश्यक छ। त्यसैले दिदीबहिनीहरूलाई सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्यका साथ सहारा फाउण्डेसन सञ्चालन गरेका हौं," उनले भनिन्।

उनका अनुसार संस्थाले विगतमा विभिन्न समुदायमा पुगेर सीपमूलक तालिम सञ्चालन गर्दै आएको भए पनि हाल आफ्नै कार्यालयबाट नियमित रूपमा निःशुल्क तालिम सञ्चालन गरिरहेको छ। अहिले हजारौं युवाले विभिन्न व्यावसायिक सीपसम्बन्धी तालिम लिइरहेका छन्।

रानाले गुणस्तरीय उत्पादन गर्न सके बजार आफैं सिर्जना हुने उल्लेख गर्दै सीपसँगै बजार व्यवस्थापनसम्बन्धी ज्ञान पनि उत्तिकै आवश्यक रहेको बताइन्।

महानगरपालिकाले यस्ता कार्यक्रमले युवालाई वैदेशिक रोजगारीको विकल्पका रूपमा स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Related Post