काठमाडौं । नेकपा एमालेले विभिन्न सञ्चारगृहका कार्यालय प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीलाई त्रसित बनाउने र नियमित काममा अवरोध पुर्याउने गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथिको आक्रमणका रूपमा टिप्पणी गरेका छन्।
उनले सञ्चारगृहको मूल प्रवेशद्वारमै शंकास्पद ढंगले गाडी पार्किङ गरेर पत्रकारहरूलाई कार्यालय प्रवेश गर्न कठिनाइ सिर्जना गरिएको र भयको वातावरण बनाइएको उल्लेख गरेका छन्। सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरस्थित अनलाइनखबर तथा मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेट अगाडि सवारीसाधन तेर्स्याएर राखिएको थियो। यसका कारण पत्रकार तथा कर्मचारीहरूलाई कार्यालय प्रवेश गर्न असहज भएको बताइएको छ।
आचार्यले स्वतन्त्र रूपमा समाचार सङ्कलन, सम्पादन र प्रकाशन–प्रसारण गर्न पाउने संवैधानिक अधिकारको रक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चार संस्था र पत्रकारलाई लक्ष्य बनाएर गरिएका यस्ता गतिविधिको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। उनले नेपाल पत्रकार महासङ्घले उठाएका मागप्रति एमालेको पूर्ण समर्थन रहेको समेत जनाएका छन्।