महोत्तरी, साउन १९ — महोत्तरीको गौशाला नगरपालिकामा विद्यार्थी बोकेको विद्यालय बस अनियन्त्रित भएर उखुबारीमा खस्दा पाँच विद्यार्थी र चालकसहित ६ जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएका छन्।
मंगलबार बिहान करिब साढे ७ बजे गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अचानक अनियन्त्रित भई सडकबाट उखुबारीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक गौशाला–५ निवासी करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन्। साथै, गौशाला–११ का प्रतिक कुशवाहा (१०), प्रज्वल कुशवाहा (८), प्रिति कुशवाहा (१३), गौशाला–९ का उमर शेख (१३) र गौशाला–११ का आदर्श कुशवाहा (६) घाइते भएका छन्।
प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको हो। उनीहरूलाई उपचारका लागि बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाइएको छ। प्रारम्भिक जानकारी अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।