काठमाडौं । मकवानपुरको भीमफेँदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। बुधबार बिहान करिब २:३० बजे वीरगन्जबाट तरकारी लिएर काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ट्रक सडकबाट चिप्लिएर करिब १०० मिटर तल चण्डी खोलामा खसेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनाका बेला उक्त क्षेत्रमा बाक्लो हुस्सु लागेको थियो। ओरालो सडक र कम दृश्यताका कारण ट्रक अनियन्त्रित भई सडकबाट तल खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा बिहान ९:१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार थिए। दुर्घटनापछि ट्रकमा लोड गरिएको तरकारी क्षतिग्रस्त भएको छ।
प्रहरीले दुर्घटनाको विस्तृत कारण खुलाउन अनुसन्धान अघि बढाएको जनाएको छ। वर्षायाममा बाक्लो हुस्सु, चिप्लो सडक र ओरालो मार्गका कारण त्रिभुवन राजमार्गमा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन पनि प्रहरीले चालकहरूलाई आग्रह गरेको छ।