मलेसिया जान लागेका नेपाल एयरलाइन्सका दुई कर्मचारी विमानस्थलबाट पक्राउ

17 August, 2026 10 Views
मलेसिया जान लागेका नेपाल एयरलाइन्सका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
10

काठमाडौं । मलेसिया भ्रमणका लागि प्रस्थान गर्न लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरू अनुमतिभन्दा बढी अमेरिकी डलर बोकेर विदेश जान लागेको आरोपमा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४, गोङ्गबुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ की ३५ वर्षीया ममता पाण्डे रहेका छन्। दुवै जना नेपाल वायुसेवा निगमको आर्थिक प्रशासन विभागमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र पाण्डेको साथबाट ४ हजार २ सय अमेरिकी डलर बरामद भएको छ। उनीहरू आइतबार राति नेपाल एयरलाइन्सको उडानमार्फत क्वालालम्पुर जान लागेका बेला विमानस्थलमा जाँच गर्ने क्रममा नियन्त्रणमा परेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसपी राजकुमार सिलवालका अनुसार दुवै जनाले यात्राका क्रममा लैजान पाउने अनुमतिभन्दा बढी विदेशी मुद्रा बोकेको देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

विमानस्थलबाट नियन्त्रणमा लिएपछि प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि दुवै कर्मचारीलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

उनीहरूले उक्त रकम कहाँबाट प्राप्त गरेका थिए, विदेश लैजानुको उद्देश्य के थियो र विदेशी मुद्रा सम्बन्धी प्रचलित व्यवस्थाको उल्लंघन भए–नभएको विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।

Related Post