गृहमन्त्री सुदन गुरुङले मनसुनजन्य विपद्को सामना गर्न सरकारले आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको सुरक्षा र उद्धारलाई केन्द्रमा राखेर सुरक्षा निकाय तथा आवश्यक स्रोत–साधन परिचालन गरिएको जानकारी दिए।
मन्त्री गुरुङले यसपटक मन्त्रीहरूको निरीक्षणभन्दा नागरिकको सुरक्षा र उद्धारलाई प्राथमिकता दिइएको उल्लेख गर्दै आवश्यक परे हेलिकप्टरसहितका साधन परिचालन गरिने बताए। विगतका अनुभवका आधारमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको उनको भनाइ छ।
उनले अघिल्ला सरकारले थालेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिइएको बताए। विपद् व्यवस्थापनमा संस्थागत सुधार र समन्वयलाई थप सुदृढ बनाउने सरकारको लक्ष्य रहेको उनले उल्लेख गरे।
गृहमन्त्री गुरुङले नागरिक सुरक्षालाई सरकारको प्रमुख दायित्व बताउँदै “गृहमन्त्रालय हरेक चेलीको माइती हो” भन्ने भावना अनुसार काम गरिरहेको बताए। महिलासहित सबै नागरिकको सुरक्षा र सेवाका लागि सरकार प्रतिबद्ध रहेको तथा प्रहरी संगठन पहिलेभन्दा प्रभावकारी रूपमा काम गरिरहेको उनको दाबी छ।
अपराध नियन्त्रणका विषयमा उच्च प्रहरी अधिकारीहरूसँग नियमित छलफल भइरहेको जनाउँदै उनले कानून कार्यान्वयनमा कुनै राजनीतिक प्रभाव स्वीकार नगर्ने स्पष्ट पारे। गलत कार्यमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याइने उनले बताए।
साथै, सुरक्षा निकायका अधिकारीहरूको कार्यसम्पादनलाई नजिकबाट मूल्यांकन गरिने, राम्रो काम गर्नेलाई प्रोत्साहन र बढुवामा कार्यसम्पादनलाई मुख्य आधार बनाइने नीति अपनाइएको गृहमन्त्री गुरुङले जानकारी दिए। उनले राजनीतिक पहुँच र दबाबका आधारमा हुने बढुवाको अभ्यास अन्त्य गरी क्षमता, इमान्दारिता र जिम्मेवारीका आधारमा पदोन्नति गरिने बताए।