उत्तरी अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा फुटबलका नयाँ तथा पुराना सुपरस्टारहरूले आफ्नो जादुमयी प्रदर्शन सुरु गरिसकेका छन्। प्रतियोगिताको प्रारम्भिक चरणमै लियोनेल मेस्सी, किलियन एम्बाप्पे र एर्लिङ हालान्डले कीर्तिमानी गोल गर्दै विश्वकपलाई निकै रोमाञ्चक मोडमा पुर्याएका छन्। तर, अर्कोतर्फ पोर्चुगलका ४१ वर्षीय लिजेन्ड क्रिस्टियानो रोनाल्डो भने आफ्नो पहिलो खेलमा इतिहास रच्ने सुनौलो अवसरबाट चुकेका छन्।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो छैटौँ विश्वकपमा पनि जादुमयी लयलाई कायम राखेका छन्। अल्जेरियाविरुद्धको खेलमा शानदार ह्याट्रिक गर्दै ३८ वर्षीय मेस्सीले विश्वकप इतिहासमै थुप्रै नयाँ कीर्तिमानहरू आफ्नो नाममा लेखेका छन्। यो ह्याट्रिकसँगै मेस्सीको विश्वकप करियरको कुल गोल सङ्ख्या १६ पुगेको छ, जसले जर्मनीका मिरोस्लाभ केलोजको सर्वकालीन सर्वाधिक विश्वकप गोलको कीर्तिमानलाई बराबरी गरेको छ। यसका साथै ३८ वर्षको उमेरमा ह्याट्रिक गर्दै मेस्सी विश्वकप इतिहासमै ह्याट्रिक गर्ने सबैभन्दा पाको खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान क्रिस्टियानो रोनाल्डोको नाममा थियो, जसले ३३ वर्ष १३० दिनको उमेरमा ह्याट्रिक गरेका थिए।
फ्रान्सेली अग्रपंक्तिका स्टार किलियन एम्बाप्पेले पनि सेनेगलविरुद्धको ३-१ को जितमा दुई गोल गर्दै फ्रान्स फुटबलमा नयाँ इतिहास रचेका छन्। २७ वर्षीय एम्बाप्पेले फ्रान्सका लागि आफ्नो ५८औँ अन्तर्राष्ट्रिय गोल पूरा गर्दै ओलिभर जिरुड (५७ गोल) लाई पछि पारेर देशकै सर्वाधिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा पारेका छन्। यो खेलसँगै विश्वकपमा उनको कुल गोल सङ्ख्या १४ पुगेको छ। यससँगै उनले सन् १९५८ देखि कायम रहेको फ्रान्सका जस्ट फोन्टेनको १३ विश्वकप गोलको ऐतिहासिक कीर्तिमानलाई समेत उछिनेका छन्।
सन् १९९८ पछि पहिलोपटक विश्वकपमा छनोट भएको नर्वेका लागि एर्लिङ हालान्डको डेब्यु खेल निकै सुखद रह्यो। इराकसँगको ४-१ को ऐतिहासिक जितमा म्यानचेस्टर सिटीका यी गोल मेसिनले २ गोल गरे। हालान्ड विश्वकप इतिहासमा नर्वेका लागि एकै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनी जन्मिनुअघि सन् १९९८ मा नर्वेले अन्तिमपटक विश्वकप खेलेको थियो। २८ वर्षपछि देशलाई विश्वकपमा फर्काउन उनले छनोट चरणमा मात्रै १६ गोल गरेका थिए र मुख्य प्रतियोगिताको पहिलो खेलमै आफ्नो प्रभाव छाड्न सफल भए।
अर्कोतर्फ, विश्वकप २०२६ को समूह 'के' अन्तर्गतको पहिलो खेलमा पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DR Congo) बीचको खेल १-१ को बराबरीमा सकियो। ४१ वर्ष १३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डोले विश्वकप इतिहासमै 'सबैभन्दा पाको उमेरमा सुरुवाती ११ मा खेल्ने आउटफिल्ड खेलाडी' को कीर्तिमान त बनाए, तर प्रदर्शनका हिसाबले भने उनी पूर्ण रूपमा चुके। खेलभर ९० मिनेट मैदानमा बिताए पनि रोनाल्डोले कङ्गोविरुद्ध जम्मा २ वटा सट्स प्रहार गरे, तर ती दुवै सट्स ‘अफ टार्गेट’ रहे र उनको एउटा पनि प्रहार 'सट्स अन टार्गेट' बन्न सकेन।
रोनाल्डो यसरी चुक्नुको मुख्य कारण कङ्गोका डिफेन्डरहरूको कडा मार्किङ र उनको आफ्नो फितलो फिनिसिङ रह्यो। कङ्गोका डिफेन्डरहरूले रोनाल्डोलाई डि-बक्सभित्र कुनै पनि खुला अवसर दिएनन् र बढ्दो उमेरका कारण उनको गति पहिले जस्तो तीखो नहुँदा उनी डिफेन्स लाइन तोड्न असमर्थ देखिए। साथै, आफ्ना चिरप्रतिद्वन्द्वी लियोनेल मेस्सीले अघिल्लो दिन नै ह्याट्रिक गरेपछि रोनाल्डोमाथि गोल गर्नैपर्ने मनोवैज्ञानिक दबाब देखिन्थ्यो। विश्वकप इतिहासमा ६ फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बन्ने ऐतिहासिक अवसर खेलभर कङ्गोको कडा डिफेन्स र रोनाल्डोको कमजोर समन्वयका कारण यतिबेलाका लागि टर्न पुगेको छ।
विश्वकप २०२६ को सुरुवात मेस्सी, एम्बाप्पे र हालान्डका लागि सपना जस्तै भएको छ भने रोनाल्डोका लागि पहिलो गाँसमै ढुङ्गा जस्तै बन्न पुग्यो। पोर्चुगलले आगामी खेलहरूमा उत्कृष्ट पुनरागमन नगरे कप्तान रोनाल्डोका लागि आफ्नो खेल जीवनको अन्तिम विश्वकप सुखद बनाउन निकै कठिन हुने फुटबल विश्लेषकहरूको भनाइ छ।