काठमाडौं। प्रधानमन्त्री बालेन शाहले तराई तथा मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्दै सुनसरीसहितका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उनले नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भाव कायम राख्ने र घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए। राज्यका सम्पूर्ण सुरक्षा संयन्त्र उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई संयमता अपनाउन पनि उनले आग्रह गरे।
प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा मजबुत बनाउन सरकारले बहुपक्षीय रणनीति अपनाएको उल्लेख गर्दै सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबीच विश्वासको वातावरण बनाउन आग्रह गरे। आपत्कालीन अवस्थामा जनताको साथमा उभिनु नै सांसदको मुख्य दायित्व भएको उनले बताए।
छलफलमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै तत्काल आ–आफ्नो क्षेत्रमा खटिने प्रतिबद्धता जनाएका छन्। उनीहरूले प्रधानमन्त्रीको राष्ट्रका नाममा गरिएको सम्बोधनले प्रभावित क्षेत्रमा विश्वास र आशा बढाएको पनि बताएका थिए।
सांसदहरूले दीर्घकालीन शान्ति र सामाजिक सद्भावका लागि धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी तथा स्थानीय राजनीतिक दलसँग निरन्तर संवाद अघि बढाउनुपर्ने सुझाव दिएका छन्। साथै, सामाजिक सञ्जालमार्फत फैलिने भ्रम र अफवाहबाट युवालाई जोगाउन स्थानीय तहमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन्।
छलफलमा रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रवीन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, विक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सांसद सहभागी थिए।