MBA टपर शाहलाई राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यको जिम्मेवारी

11 September, 2026 156 Views
MBA टपर शाहलाई राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यको जिम्मेवारी
156

सुदूरपश्चिमका युवा अभियन्ता रबेन्द्र विक्रम शाह राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यमा नियुक्त भएका छन्। युवा सशक्तीकरण, नेतृत्व विकास, नागरिक सहभागिता र सामाजिक अभियानमा एक दशकभन्दा लामो समयदेखि सक्रिय शाहलाई नेपाल सरकारअन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालयको राष्ट्रिय युवा परिषद्को कार्यकारी बोर्ड सदस्यको जिम्मेवारी दिइएको हो।

शाह यसअघि पनि राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यका रूपमा काम गरिसकेका अनुभवी युवा अभियन्ता हुन्। युवा नीति, नेतृत्व विकास, स्वयंसेवा, मानव अधिकार तथा नागरिक सहभागिताका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका उनलाई यसपटक कार्यकारी बोर्ड सदस्यको जिम्मेवारी दिइएको हो।

MBA अध्ययनमा विश्वविद्यालय टप गरेर शैक्षिक उत्कृष्टता हासिल गरेका शाहको परिचय शैक्षिक उपलब्धिमा मात्र सीमित छैन। युवासम्बन्धी नीति निर्माण, तालिम, अभियान, संवाद तथा नेतृत्व विकासका कार्यक्रमहरूमा प्रत्यक्ष रूपमा सक्रिय रहँदै उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग काम गरेका छन्।

JCI Nepal, Youth Initiative, Amnesty International, National Youth Council, Youth NGO Federation Nepal, Lions Club लगायतका संस्थामा विभिन्न जिम्मेवारी सम्हालिसकेका शाहले युवा नेतृत्व, मानव अधिकार, सुशासन, सामाजिक उत्तरदायित्व, स्वयंसेवा र नागरिक सहभागिताका क्षेत्रमा काम गर्दै आएका छन्।

विशेषगरी ग्रामीण तथा स्थानीय तहका युवालाई नेतृत्व र क्षमता विकासका अवसरसँग जोड्ने, युवाको आवाजलाई नीति निर्माणको तहसम्म पुर्‍याउने तथा युवा उद्यमशीलता, रोजगारी र सीप विकासका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने विषयमा शाहले निरन्तर पैरवी गर्दै आएका छन्। राष्ट्रिय युवा परिषद्का विभिन्न कार्यक्रममार्फत उनले देशका विभिन्न जिल्लाका युवासँग प्रत्यक्ष रूपमा कामसमेत गरेका छन्।

राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पद रिक्त रहेको अवस्थामा कार्यकारी बोर्ड सदस्यका रूपमा शाहको नयाँ जिम्मेवारीलाई थप महत्वपूर्ण रूपमा हेरिएको छ। परिषद्का नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउने, युवा परिचालन र सरकारी–गैरसरकारी क्षेत्रबीच समन्वय गर्ने तथा युवाका वास्तविक समस्या र आवाजलाई नीति तहसम्म पुर्‍याउने चुनौती अब शाहसामु छ।

नियुक्तिपछि शाहले आफ्नो जिम्मेवारीलाई अवसरभन्दा बढी चुनौतीका रूपमा लिएको बताएका छन्। उनले यसअघि बोर्ड सदस्यका रूपमा प्राप्त अनुभवलाई प्रयोग गर्दै युवाको आवाज नीति निर्माणको तहसम्म पुर्‍याउने, युवाका अवसर र सम्भावना विस्तार गर्ने तथा सक्षम, समावेशी र जिम्मेवार युवा पुस्ता निर्माणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

लामो समयदेखि युवा क्षेत्रमा सक्रियता, शैक्षिक उत्कृष्टता र विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभवका कारण शाहको नियुक्तिलाई युवा क्षेत्रका सरोकारवालाहरूले अर्थपूर्ण रूपमा हेरेका छन्। अब भने उनको परीक्षा जिम्मेवारी पाएपछि सुरु भएको छ—युवा नीति कागजमै सीमित रहने कि युवाका वास्तविक समस्या र अवसरसँग जोडिने भन्ने प्रश्नको जवाफ उनको कार्यसम्पादनले दिनेछ।

शाहको नियुक्तिसँगै राष्ट्रिय युवा परिषद्बाट युवा रोजगारी, सीप विकास, उद्यमशीलता, नेतृत्व विकास र नीति निर्माणमा युवाको सार्थक सहभागिताका विषयमा थप प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।

 

Related Post