नौ देशमा राजदूत नियुक्तिको तयारी, दसैँपछि प्रक्रिया अघि बढ्ने

04 October, 2026 85 Views
नौ देशमा राजदूत नियुक्तिको तयारी, दसैँपछि प्रक्रिया अघि बढ्ने
85

काठमाडौं । सरकारले रिक्त रहेका नौ देशका नेपाली दूतावासमा दसैँपछि नयाँ राजदूत नियुक्त गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको प्रक्रिया अघि बढिरहेको जनाएको छ ।

सरकारले यसअघि विज्ञतर्फबाट १३ देशका लागि १३ जनाको नाम राजदूतमा सिफारिस गरिसकेको छ । अब बाँकी रहेका नौ देशका लागि राजदूत नियुक्तिको प्रक्रिया अघि बढाइएको हो । रसिया, अष्ट्रेलिया, ओमान, स्पेन, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टस्थित नेपाली दूतावासमा राजदूतको पद रिक्त छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर क्षेत्रीले राजदूत नियुक्तिको प्रक्रिया चलिरहेको जानकारी दिए । ‘दसैँपछि नै हुनसक्छ । तर अहिले यति मात्र भन्न सकिन्छ, राजदूत नियुक्तिको कार्य प्रक्रियामा रहेको छ,’ उनले भने ।

यी नौवटै दूतावासमा यसअघि कर्मचारीतर्फबाट राजदूतको जिम्मेवारी दिइएको थियो । त्यसमध्ये रसिया, अष्ट्रेलिया, ओमान र स्पेनस्थित नेपाली दूतावास अहिले राजदूतविहीन छन् ।

बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टका राजदूतको कार्यकाल सकिए पनि बालेन्द्र शाह नेतृत्वको सरकारले अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूको म्याद थप गरेको छ ।

म्याद थप गरिएका राजदूतमा बंगलादेशका घनश्याम भण्डारी, ब्राजिलका निर्मलराज काफ्ले, म्यानमारका हरिश्चन्द्र घिमिरे, बहराइनका तीर्थराज वाग्ले र इजिप्टका सुशील लम्साल छन् ।

सरकारले यसअघि उनीहरूलाई फिर्ता बोलाएर नयाँ राजदूतका रूपमा कुमार खरेल, भृगु ढुंगेल, गणेश ढकाल, दिलिप पौडेल र विष्णु गौतमको नाम सिफारिस गरेको थियो । तर, पछि पुरानै राजदूतको कार्यकाल थप गरिएको थियो ।

दसैँपछि नयाँ राजदूतको नाम सिफारिस भएपछि म्याद थप गरिएका पाँचै जना राजदूत स्वदेश फर्किनेछन् ।

यसअघि विज्ञतर्फबाट सिफारिस गरिएका १३ जनाको नाम संसदीय सुनुवाइ समितिमा पुगेको छ ।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनको नाम सिफारिस भएको छ ।

त्यस्तै, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरिएको छ ।

 
 
 

Related Post