काठमाडौं । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुनविद् नाभी पिल्लेलाई प्रदान गरिएको छ।
रङ्गभेदविरुद्धको संघर्ष, मानवअधिकारको संरक्षण र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो।
नर्वेजियन नोबेल समितिका अनुसार पिल्लेले युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारका घटनामा दोषीलाई जवाफदेही बनाउने प्रयासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।
दक्षिण अफ्रिकाको डर्बनमा भारतीय तमिल मूलको परिवारमा जन्मिएकी पिल्लेले रङ्गभेदको समयमा विभेद र बहिष्करणको सामना गरेकी थिइन्। उनले नेल्सन मण्डेलासहित रङ्गभेदविरुद्ध संघर्ष गर्ने व्यक्तिहरूको पक्षमा कानुनी वकालतसमेत गरेकी थिइन्।
उनले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा न्यायाधीशका रूपमा काम गरिसकेकी छन्। उनी संयुक्त राष्ट्रसङ्घकी मानवअधिकार उच्चायुक्तसमेत भइसकेकी छन्।
पिल्लेले मानवअधिकार र अन्तर्राष्ट्रिय न्यायको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको जनाइएको छ।