काठमाडौं। संघीय संरचना अनुसार न्याय सेवाको पुनर्संरचनाको आवश्यकता बढ्दै गएको अधिवक्ता विष्णु गिरीले बताएका छन्। राज्यका अन्य सेवाजस्तै न्याय पनि नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले अझै पनि धेरै नागरिकले न्याय प्राप्त गर्न भौगोलिक दूरी, आर्थिक भार, समयको अभाव तथा प्रशासनिक जटिलताका कारण कठिनाइ भोगिरहेको उनले बताएका छन्।
अधिवक्ता गिरीले न्यायपालिकाले आफ्नो सेवा संरचनालाई समयानुकूल बनाउँदै जनताको नजिक पुग्ने प्रयास गर्नुपर्ने बताएका छन्।
जनसंख्या वृद्धि, शहरीकरण, आर्थिक गतिविधिको विस्तार तथा नागरिकको अधिकारप्रतिको बढ्दो सचेतनासँगै मुद्दाको संख्या बढिरहेको उल्लेख गर्दै उनले अदालतले आफ्नो सेवा क्षेत्रगत रूपमा विस्तार गरी नागरिकलाई नजिकबाट सेवा उपलब्ध गराउने प्रयास गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार स्थानीय सरकार नागरिकको घरदैलोमा पुगेको छ। त्यसैगरी न्यायिक सेवाको पनि क्रमिक विकेन्द्रीकरण आवश्यक रहेको उनले बताए। दूरदराजका नागरिकले एउटा मुद्दाको सुनुवाइका लागि पटकपटक काठमाडौं धाउनुपर्ने अवस्था न्यायमा समान पहुँचको सिद्धान्तसँग पूर्ण रूपमा मेल नखाने उनको भनाइ छ।
अधिवक्ता गिरीका अनुसार संघीयताको मूल मर्म नै अधिकार, स्रोत र सेवा नागरिकको नजिक पुर्याउनु हो। न्याय केवल फैसला सुनाउने प्रक्रिया मात्र नभई नागरिकको अधिकार, सम्मान र राज्यप्रतिको विश्वाससँग जोडिएको विषय भएकाले जब नागरिकले सहज रूपमा न्याय पाउँछन्, तब कानुनी शासन बलियो हुने उनको भनाइ छ।
तीन तहका सरकारमध्ये स्थानीय तह कानुनी साक्षरता अभियानमा जुटिरहेको उल्लेख गर्दै उनले कानुनका आधारभूत विषय बुझाएर जनतालाई जानकारी गराउन कानुनी साक्षरता अभियान आवश्यक रहेको बताए।
ग्रामीण क्षेत्रका बासिन्दालाई कुन विषय र मुद्दा कस्तो कानुनसँग सम्बन्धित छ भन्ने जानकारी गराउँदा अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने उनको विश्वास छ।
स्थानीय तहमा फौजदारी तथा देवानी प्रकृतिका अभियोगहरू, जस्तै विवाह, बहुविवाह, अपहरण, शरीर बन्धक, छुवाछुत तथा भेदभाव, चेक अनादर, कुटपिट, सार्वजनिक सम्पत्ति हडप्ने लगायतका विषयमा कानुनी साक्षरतामार्फत जनतालाई सचेत बनाउन सकिने उनले बताए।
कानुनको अज्ञानता क्षम्य नहुने भएकाले नेपालमा बसोबास गर्ने नेपाली तथा विदेशी सबैले नेपालको कानुन र कानुनी व्यवस्थाबारे जानकारी राख्न आवश्यक रहेको उनको भनाइ छ।
मेलमिलापकर्तासमेत रहेका अधिवक्ता गिरीले पछिल्लो समय विभिन्न कानुनसँग सम्बन्धित संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा प्रशिक्षकका रूपमा समेत प्रशिक्षण दिँदै आएका छन्।