नागरिकता र लालपुर्जाको माग गर्दै सुस्तावासी काठमाडौंमा, माइतीघरमा सुरु भयो शान्तिपूर्ण धर्ना

30 June, 2026 65 Views
नागरिकता र लालपुर्जाको माग गर्दै सुस्तावासी काठमाडौंमा, माइतीघरमा सुरु भयो शान्तिपूर्ण धर्ना
65
सुस्ता क्षेत्रका बासिन्दाहरू आफ्नो ऐतिहासिक भूमि, पहिचान र अधिकार रक्षाको माग गर्दै काठमाडौं उत्रिएर माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना तथा प्रदर्शन सुरु गरेका छन्। 'सुस्ता बचाउ अभियान' को ब्यानरमा मंगलबार काठमाडौं आइपुगेका सीमावर्ती क्षेत्रका नेपालीहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनुपर्ने र राज्यबाट नागरिकता प्रमाणपत्र उपलब्ध गराइनुपर्ने मुख्य माग अघि सारेका छन्। 
प्रदर्शनकारीहरूले हातमा राष्ट्रिय झण्डा र 'सुस्ता बचाउ, सुस्तावासीलाई बचाउ', 'सीमा, नागरिकता र लालपुर्जाको रक्षा गर' तथा 'अतिक्रमण होइन, सार्वभौम सम्मान दे' जस्ता कडा नाराहरू लेखिएका प्लेकार्ड बोकेर सडकमा आफ्नो पीडा पोखेका छन्। वर्षौंदेखि राज्यको सेवा-सुविधा र कानुनी पहिचानबाट वञ्चित सुस्तावासीले सरकारले माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। 
प्रदर्शनमा सहभागी स्थानीयहरूका अनुसार राज्यको स्पष्ट नीतिको अभाव र हालै सीमा क्षेत्रलाई लिएर आएका राजनीतिक अभिव्यक्तिहरूका कारण भारतीय सुरक्षाकर्मी (SSB) बाट विभिन्न प्रकारका दुःख, दबाब र मानसिक अवरोध भोग्नुपरेको छ। पुर्खादेखि सुस्तामा बसोबास गर्दै आए पनि अधिकांश नागरिकसँग नेपाली नागरिकता नहुँदा उनीहरूका सन्तानले कानुनी पहिचान पाउन सकेका छैनन् र आफ्नो जग्गाको स्वामित्व प्रमाणित गर्ने कुनै आधार छैन।
सुस्ता बचाउ अभियानले भारतीय पक्षबाट भइरहेको भूमि अतिक्रमण रोक्न नेपाल सरकारले तत्काल कडा कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षालाई थप प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने तथा सीमाका वास्तविक रक्षक सुस्तावासीलाई तत्काल लालपुर्जा र नागरिकता दिएर न्याय गर्नुपर्ने तीन सूत्रीय माग सरकारसमक्ष राखेको छ।

Related Post