काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई जोड्दै प्रतिपक्षी दल नेकपाले बालिका तथा किशोरीमाथि हुने हिंसा र अपराध रोक्न ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न सरकारसँग माग गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले घटनाप्रति दुःख व्यक्त गर्दै राज्यस्तरबाटै बालिका सुरक्षाका लागि अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
दुलालले बालबालिकामाथि हुने यस्ता हृदयविदारक घटना रोक्न सरकार गम्भीर बन्नुपर्ने बताए। उनले भने, ‘कोपिलामै खोसिएका हृदयविदारक घटनाप्रति दलको तर्फबाट दुःख व्यक्त गर्दछु। छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गरौँ।’
बैठकमा दुलालले प्रधानमन्त्री बालेन शाहले भीभीआईपी प्रोटोकल पालना नगरेको भन्दै पनि आपत्ति जनाए। हालै प्रधानमन्त्री शाहले गरेको कास्की र मुस्ताङ भ्रमणलाई संकेत गर्दै उनले प्रधानमन्त्रीजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिले सुरक्षा तथा भीभीआईपी प्रोटोकलको ख्याल गर्नुपर्ने बताए।
उनले भने, ‘प्रधानमन्त्री भएपछि सार्वजनिक व्यक्ति नै हुन्छ। प्रधानमन्त्री प्रोटोकल ख्याल गर्नुपर्छ।’
त्यस्तै, दुलालले बढ्दो महँगीका विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराए। नागरिकलाई प्रत्यक्ष असर पारिरहेको महँगी नियन्त्रणका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो।
दुलालले नेपालको पानी निर्यातका लागि अनुमति मागिरहेका कम्पनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिन पनि सरकारसँग आग्रह गरेका छन्। नेपालमा पानीको पर्याप्त सम्भावना रहेकाले त्यसलाई निर्यातमार्फत आर्थिक लाभ लिन सकिने भन्दै उनले प्रक्रिया सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।