नाम्सी खोलामा ढुंगा खस्दा नारायणगढ–मुग्लिन सडकमा जोखिम

03 September, 2026 104 Views
नाम्सी खोलामा ढुंगा खस्दा नारायणगढ–मुग्लिन सडकमा जोखिम
104

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी खोला पुल नजिकै बिहीबार बिहान माथिबाट ढुंगा खसेको छ। पुल आसपासको ढिकबाट स–साना ढुंगा सडकमा खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयले बिहान ९ः३५ बजे सूचना जारी गर्दै सडकमा खसेका ढुंगा हटाउने तयारी भइरहेको जानकारी दिएको छ। स–साना ढुंगा मात्र खसेकाले हटाएपछि सडक आवागमन सहज बनाउन धेरै समय नलाग्ने कार्यालयको भनाइ छ।

ढुंगा खसेका कारण पुरानो सडक प्रभावित भए पनि सोही स्थानमा निर्माण गरिएको नयाँ पुलबाट सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहेका छन्। त्यसैले यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ।

तर, सडक माथिबाट थप ढुंगा खस्न सक्ने जोखिम रहेकाले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। सडक डिभिजन कार्यालयले सडकको अवस्था बुझेर र आवश्यक सावधानी अपनाएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।

Related Post