नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, अवस्था नियन्त्रणमा

30 August, 2026 144 Views
नेपाल–चीन सीमा क्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, अवस्था नियन्त्रणमा
144

काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा पहिरोपछि नदी थुनिएर बनेको कृत्रिम तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर अर्थात् १४ वटा मानक फुटबल मैदान बराबर रहेको चिनियाँ सरकारी सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ। अगस्ट २९ सम्मको अनुगमनका आधारमा तालको अवस्था अहिले नियन्त्रणमा रहेको जनाइएको छ।

सीजीटीएनका अनुसार चीन एन्नेङ ग्रुपले गरेको अनुगमनमा तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर मापन गरिएको हो। पहिरोका कारण नदीको बहाव अवरुद्ध भएपछि बनेको यो तालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा थप जोखिम सिर्जना गरेको थियो।

सीजीटीएनको पछिल्लो विवरणअनुसार तालबाट प्राकृतिक रूपमा पानी बाहिरिन थालेको छ र तालको आकारसमेत घटेको छ। चिनियाँ उद्धार तथा प्राविधिक टोलीले तालको अवस्था निरन्तर निगरानी गरिरहेका छन्। पानीको बहाव, जमिनको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिन ड्रोन तथा अन्य निगरानी उपकरणसमेत प्रयोग गरिएको छ।

यसअघि चिनियाँ जलस्रोत मन्त्रालयले तालमा ठूलो मात्रामा पानी जम्मा भएको र त्यसले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको जनाएको थियो। पहिरोबाट बनेको प्राकृतिक बाँध ढुंगा, माटो, हिउँ र लेदोबाट बनेकाले यसको संरचना कृत्रिम बाँधभन्दा कम स्थिर हुने र पानीको दबाब बढेमा अचानक फुट्न सक्ने जोखिम रहने बताइएको थियो।

यसैबीच, पहिलो तालभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा अर्को कृत्रिम तालसमेत पहिचान गरिएको सीजीटीएनले जनाएको छ। त्यस क्षेत्रमा पनि चिनियाँ अधिकारीहरूले निरन्तर अनुगमन गरिरहेका छन्।

केरुङ क्षेत्रमा भएको पहिरो र बाढीपछि उद्धार तथा सडक पुनःस्थापनाको काम पनि जारी छ। चिनियाँ अधिकारीका अनुसार दुई हजारभन्दा बढी उद्धारकर्मी परिचालन भएका छन् भने क्षतिग्रस्त सडक पुनः सञ्चालन गर्ने काम भइरहेको छ।

चिनियाँ अधिकारीहरूले तालको जोखिम अहिले व्यवस्थापनयोग्य भए पनि पानीको बहाव र पहिरोको अवस्था निरन्तर निगरानीमा राखिएको बताएका छन्। नेपालतर्फ पनि भोटेकोसी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा सतर्कता आवश्यक रहेको छ।

Related Post