काठमाडौँ । नर्सिङ क्षेत्रका विभिन्न माग पूरा गर्न दबाब दिँदै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौँस्थित वीर अस्पतालअगाडि प्रदर्शन गरेका छन्।
नर्सिङ क्षेत्रको सुधारको माग गर्दै नर्स ज्योति रानाभाटले थालेको आमरण अनशन पाँचौँ दिनमा पुगेपछि ऐक्यबद्धता जनाउन नर्सहरू प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनका क्रममा उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रमशोषणको अन्त्य, नर्सिङ सुधारको स्पष्ट रोडम्यापलगायत १५ बुँदे माग तत्काल कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन्। प्रदर्शनमा ‘१५ बुँदे माग पूरा गर’, ‘ज्योतिको जीवन बचाऊ’, ‘न्यायमा ढिलाइ, जीवनमा जोखिम’ र ‘नर्स बचाऔँ–स्वास्थ्य बचाऔँ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
सरकारसँग यसअघि भएका सहमति र प्रतिबद्धता कार्यान्वयन नभएको जिकिर गर्दै नर्सहरूले आफ्ना माग शीघ्र सम्बोधन गर्न सरकारसँग माग गरेका छन्।